गाउँपालिकाले किसानको राहतका लागि शित भण्डार बनाई दिएको छ: लख्खु यादव
न्यूज डेस्क नवलपरासी….(जीतेन्द्र गुप्ता की रिपोर्ट)
नवलपरासी/नेपाल।
नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाले आफ्नै पहलमा निर्माण गर्न लागेको शित भण्डार गृह(कोल्ड स्टोर) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुस्तामा मूल्यबालीको रुपमा उत्पादन हुँदै आएको केरा खेती र अहिले केराभित्र शुभारम्भ गरिएको ब्यावसायिक आलु खेतीलाई लक्षित गरी सो गृहको निर्माण दुई बर्ष पहिला सुरु भएको र अहिले अन्तिम चरणमा पुगेको गाउँपालिकाले जानकारी गराएको हो ।
नगदे बालीको रुपमा गाउँपालिकाभित्र विगतमा रहेको उखु विस्थापित हँुदै ब्यावसायिक केरा खेती बढ्न थालेको छ । केराखेती भित्र घुसुवाबालीको रुपमा ब्यावसायिक आलु खेतीबाट उत्पादित आलु र केरा केही दिनसम्म सो भण्डार गृहमा भण्डार गरेर राख्न सक्ने र अनुकुल समयमा बिक्री गर्ने गरी शित भण्डार गृहको निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । उनका अनुसार गाउँपालिका भित्रका किसान अहिले उखु खेती गर्न छाडेर वैकल्पिक खेतीको रुपमा केरा, बालु, बगरखेतीको रुपमा तरबुजा आदि खेती हुन थालेका छन् । “बाली भित्र्याउने बेला हतार हुने र सो बेला कृषि उपजले बजार नपाउने समस्या थियो”–उनले भने, “झण्डै पाँच करोडको लागतमा बनेको कोल्ड स्टोरले किसानलाई केही समयका लागि भण्डार गर्न मद्दत मिल्ने छ । यसको भरपुर उपयोग किसानले अब गर्नुपर्छ ।”
बनेको कोल्ड स्टोरले सुस्ता गाउँपालिका मात्रै नभई छिमेकी प्रतापपुर गाउँपालिकाका किसानलाई उत्पादन भण्डारमा सहयोग मिल्ने उनको भनाई थियो । यसका लागि स्थानीय किसानहरु पनि सक्रिय हुनुपर्ने उनको भनाई थियो । शित भण्डारले किसानलाई ठूलो राहत प्रदान गर्ने नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए । “गाउँपालिकाले किसानको राहतका लागि शित भण्डार बनाई दिएको छ”–उनले भने, “यसले केरा उत्पादक कृषक उत्साहित छन् । शित भण्डारको निर्माण कार्य अन्तिम चरणमा पुगे पश्चात स्थानिय किसानले केरा भित्र आलु खेतीलाई पनि बढावा दिएका छन् ।” अब उत्पादित हुने आलु र केरालाई तत्कालै जुनसुकै मुल्यमा विक्रि गरि हाल्नु पर्ने बाध्यताको अन्त हुने उनको भनाई थियो ।
किसानले धेरैबर्ष पहिलेदेखि यो क्षेत्रमा शित भण्डार बन्नु पर्ने माग राख्दै आएका थिए । लुम्बिनी प्रदेश सरकारले शित भण्डार निर्माणमा ७५ प्रतिशत अनुदान दिइने जनाएपछि गाउँपालिकाले नै २५ प्रतिशत रकम थपेर सो अनुदानको माग गरेको थियो । अहिले लुम्बिनी प्रदेश सरकार र सुस्ता गाउँपालिकाको सहयोगमा ९ सय मेट्रिक टनसम्म भण्डारण गर्न सक्ने क्षमताको शित भण्डार सुस्ता वडा नं.४ नर्सहीमा निर्माण सम्पन्नको अवस्थामा पुगेको छ । यसले किसानलाई आलु, केरा, तरबुजा खेतीतर्फ किसानलाई खेती गर्न हौस्याएको छ । गण्डकी नदी किनारमा अधिकाँश बलौटो भू–भागमा यसै प्रकारको खेती हुने गरेको हँुदा यसको अधिकतम उपयोग हुने गाउँपालिकाले विश्वास गरेको छ ।
शित भण्डार निर्माणको कार्य कालीगण्डकी रविना जेभि ओमसतिया १ रुपन्देहीले जिम्मा लिएको थियो । २०७७ फागुन १८ गते गाउँपालिकासँग सम्झौता भएको थियो । २०७९ मंसिर ३० सम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसार निर्माण कम्पनीले काम सम्पन्न गरेको छ । आयोजनाको कुल लागत ४ करोड ९९ लााख ४१ हजार २ सय ९९ रहेको छ । शित भण्डारका कार्य सम्पन्न भए पनि कार्यालय सञ्चालन, सडक, सुरक्षा गार्ड बस्ने लगायतका केही आधारभूत पूर्वाधार बनेको छैन् । यी पूर्वाधार नबनेसम्म शितभण्डारसँगै जोडिएको वडा नं.४ को वडा कार्यालय समेत रहेको हँुदा सञ्चालनमा खासै समस्या नआउने भनाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई थियो । गाउँपालिकाको एक्लै प्रयासले किसानका लागि शित भण्डार बनाईदिइने सम्भवतः प्रदेशको पहिलो गाउँपालिका हो ।